नयाँ वर्षमा केकी अधिकारीदेखि पूजा शर्माले घोषणा गरे नयाँ चलचित्र


काठमाडौं । नव वर्ष २०८३ को पहिलो दिन मंगलबार एकसाथ पाँच नयाँ चलचित्र निर्माणको घोषणा भएको छ । नयाँ चलचित्र निर्माणको घोषणा गर्ने तीन ठूला र चर्चित ब्यानर हुन् । २०८२ को ब्लकबस्टर चलचित्र ‘परान’ को टिमले ‘चिरञ्जीवी भवः’ चलचित्र बनाउने घोषणा गरेको छ । चलचित्रको निर्देशन दीपकप्रसाद आचार्यले गर्ने भएका छन् । उनले नै ‘परान’ को निर्देशन गरेका थिए । चलचित्रको कथा कुमार कट्टेल र लेखन सविन अधिकारी र वसन्त न्यौपाने छन् ।

चलचित्रको कलाकार टुंगो लागेको छैन । यस्तै, निर्देशक सुदर्शन थापा ‘शुभविवाह’ बनाउँदैछन् । लामो समयपछि उनी निर्देशनमा फर्केका हुन् । ‘शुभविवाह’ प्रेमकथा र पारिवारिक कथावस्तुमा बन्न लागेको हो । चलचित्रको टिमबारे केही खुलाइएको छैन । अभिनेत्री केकी अधिकारी पनि चलचित्र निर्माणमा फर्किएकी छन् । यसअघि ‘बोक्सीको घर’ बनाएकी केकीले नयाँ वर्षको दिन ‘स्टेसन’ चलचित्रको घोषणा गरेकी छन् ।

चलचित्रको निर्माता केकीका बुबा बद्री अधिकारी र निर्देशन सुलक्षण भारतीले गर्नेछन् । भारतीले ‘बोक्सीको घर’ निर्देशन गरेका थिए । यस्तै, अभिनेत्री पूजा शर्मा ‘रत्यौली’ चलचित्र लिएर आउँदैछिन् । अघिल्लो वर्ष रियल लाइफमै युद्ध बानियाँको बेहुली बनेकी पूजाले २०८३ मा चलचित्र ‘रत्यौली’ रिलिज गर्ने भएकी छन् ।

चलचित्रको निर्देशन मुस्कान ढकाल र निर्माता सुजन आचार्य हुन् । ‘तपाईहरुले मलाई र पूजा शर्मा प्रोडक्सनलाई दिनुभएको अथाहा प्रेमका लागि सधै आभारी छु । आज नयाँ वर्षको दिन हामीले नयाँ चलचित्र ‘रत्यौली’ निर्माणको घोषणा गरेका छौं । हाम्रो यो यात्रामा साथ दिनुभएकोमा नायक विजय बराललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

साथै, निर्देशक मुस्कान ढकालसँगको यो यात्रा गज्जब हुने अपेक्षा गरेको छु । फिल्म निर्माणमा साथ दिने मेरो प्रिय ‘बाउ सुरज आचार्यप्रति आभारी छु । हामीलाई यो यात्रामा तपाइहरुले सधै झैं साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु । अब, तपाईहरु माझ ‘रत्यौली’,’ पूजाले भनेकी छन् । चर्चित संगीतकार अर्जुन पोखरेल फिल्म निर्माणमा लागेका छन् । उनले चलचित्र ‘बेहुली’ को घोषणा गरेका छन् । चलचित्रलाई सशन कँडेलले निर्देशन गर्ने भएका छन् । चलचित्रको निर्माता प्रताप राना र लेखक माधव शर्मा हुन् ।