जेन–जी आन्दोलनको विद्रोही स्वर: बफिन्स ९८ को ‘हाम्रो आवाज – नयाँ नेपाल’ सार्वजनिक


काठमाडौं – पोखराको सांगीतिक समूह ‘बफिन्स ९८’ले जेन–जी पुस्ताको विद्रोह, आन्दोलन र परिवर्तनको आकांक्षालाई समेट्दै नयाँ म्युजिक भिडियो ‘हाम्रो आवाज – नयाँ नेपाल’ सार्वजनिक गरेको छ।

यस गीतले विशेषगरी २०८२ साल भदौ २३ गते देशभरका युवाहरूले परिवर्तनको माग गर्दै उठाएको आवाज र सडक संघर्षलाई जीवन्त रूपमा चित्रण गरेको छ। बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण तथा सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धजस्ता सरकारी कदमविरुद्ध उत्रिएका युवाहरूको कथालाई गीतको मूल विषय बनाइएको छ।

गीतमा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका जेन–जी पुस्तामाथि भएको दमन, अन्धाधुन्द गोली प्रहार, र त्यसबाट भएको जनधनको क्षतिको पीडादायी यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। “म काठमाडौंको धूलोमा लुकेको चिठी हुँ, त्यो चिठी जो कहिल्यै पढिएन” जस्ता मार्मिक शब्दहरूले राज्यले नसुनेको युवाको आवाजलाई गहिरो रूपमा अभिव्यक्त गरेका छन्।

दुई दशकदेखि प्रवासमा रहेका गायक सञ्जीव गुरुङको शब्द र स्वर रहेको यस गीतले युवालाई आफ्नै माटोमा फर्किएर देश निर्माणमा जुट्न आह्वान गर्दछ। यसअघि पनि ब्यान्डले ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता सामाजिक चेतना र देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरिसकेको छ।

गीतको संगीत संयोजन सञ्जीव गुरुङ र सुमन तामाङले गरेका हुन् भने ध्वनि मिश्रण पोखरास्थित एपोस्टल रेकर्डिङ स्टुडियोमा सुमन तामाङले नै गरेका छन्।

म्युजिक भिडियोमा जेन–जी आन्दोलनको युवा उभार, कलाकारहरूको ऐक्यबद्धता, र हिमाल, पहाड तथा तराईका जनजीवनलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन, छायांकन र सम्पादन ब्यान्डका बेस गिटारिस्ट तथा वृत्तचित्र निर्माता जीवन भाइले गरेका हुन्।

ब्यान्डका अनुसार ‘हाम्रो आवाज – नयाँ नेपाल’ केवल एक सांगीतिक प्रस्तुति मात्र नभई आन्दोलनका सहिद, घाइते तथा तिनका परिवारप्रतिको सम्मान हो। सुशासन, सकारात्मक परिवर्तन र भ्रष्टाचारमुक्त समाजको सपना देख्ने सम्पूर्ण युवाप्रति यो गीत समर्पित गरिएको छ।