काठमाडौं – उत्तम प्रधान र निरुता सिंह अभिनीत चलचित्र ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र टोली छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो।
निर्देशक कुमार गजुरेल का अनुसार बुधबार (वैशाख ९ गते)देखि गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा छायांकन सुरु हुनेछ।
वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ यस चलचित्रका निर्माता हुन्। करिब तीन दशक लामो सम्पादन अनुभवलाई समेट्दै उनले दर्शकलाई उत्कृष्ट कथा प्रस्तुत गर्ने लक्ष्यसहित निर्माणमा होमिएको बताएका छन्।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको यस चलचित्रमा उत्तम र निरुताको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिँदैछ, जसले दर्शकमाझ उत्सुकता बढाएको निर्माण टिमले जनाएको छ।
अभिनेत्री निरुता सिंह शुभमुहूर्त कार्यक्रममा सहभागी भएकी थिइन् भने उत्तम प्रधान वैशाख १५ गते नेपाल आएर छायांकनमा जोडिने तयारीमा छन्।
कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्यालको पनि उपस्थिति रहेको थियो।
चलचित्रमा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहनेछ।
सौर्यल थापा निर्माता रहेको यस चलचित्रमा रदिप श्रेष्ठ र प्रदिप रायमाझी कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर रहेका छन्।












प्रतिक्रिया