काठमाडौं – सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझीले चलचित्र क्षेत्रमा औपचारिक रूपमा डेब्यु गर्ने भएकी छन्।
चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘चिरञ्जीवी भवः’मार्फत प्रशंसाले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन्।
चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा गरिएको थियो। लामो समयदेखि टेलिभिजन सिरिज ‘भद्रगोल’ र ‘सक्किगो नि’ मार्फत दर्शकमाझ लोकप्रिय बनेका जिग्री–काकुको यो सहकार्यलाई चलचित्र क्षेत्रमा अर्थपूर्ण परियोजनाका रूपमा हेरिएको छ।
चलचित्रको निर्देशन दीपकप्रसाद आचार्यले गर्नेछन् भने कथा कुमार कट्टेलको रहनेछ। सामाजिक ड्रामा विधामा निर्माण हुने यस चलचित्रको मुख्य कथा दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कट्टेलले जानकारी दिएका छन्।
यस चलचित्रमा सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा रहेका छन्।
यसअघि निर्देशक दीपकप्रसाद आचार्यको चलचित्र ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने चलचित्र बनेको थियो भने कुमार कट्टेलको निर्देशन तथा अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक सफलता हासिल गरेको थियो।
हाल चलचित्रको स्क्रिप्ट अन्तिम चरणमा पुगेको र आगामी डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
करिब आठ वर्षदेखि टेलिभिजनमा सहकार्य गर्दै आएका जिग्री–काकुको यो ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली चलचित्रमा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। साथै, लाखौँ फलोअर्स भएकी प्रशंसा रायमाझीको डेब्युले युवा दर्शकको आकर्षण थप बढ्ने विश्वास गरिएको छ।












प्रतिक्रिया