पोखरा – डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै सोमबार ‘प्याकअप’ गरिएको हो।
३५ दिनको तालिका बनाएर अर्मलाकोट मन्दिरबाट छायांकन सुरु गरिएको चलचित्रले ३७ दिनमा सुटिङ पूरा गरेको हो। पोखरा आसपासका अर्मलाकोट, धिताल, घार्मी र बगर क्षेत्रका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिएको छ।
छायांकनका क्रममा निर्माण टोलीले प्रतिकूल मौसमको चुनौती सामना गर्नुपरेको थियो। लगातार वर्षा भइरहँदा पनि छायांकन जारी राखिएको थियो भने अन्तिम चरणमा ३० घण्टासम्म निरन्तर काम गरिएको निर्देशक आकास बरालले बताए। उनका अनुसार कठिन परिस्थितिमा पनि सेटमा उत्साह र रमाइलो वातावरण कायम थियो।
सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराल फरक भूमिकामा देखिनेछन्। तर, उनको चरित्रबारे निर्माण पक्षले विस्तृत खुलासा गरेको छैन।
चलचित्रको कथा विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआउँदासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ पुग्ने क्रममा हुने घटनाक्रममा आधारित छ। यसअघि चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ।
चलचित्रमा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन निशाल पौडेलले गरेका हुन्। सम्पादन चानस पुन मगर, रङ्ग संयोजन राजेन्द्र मोक्तान, सङ्गीत अङ्कित बाबु अधिकारी र गीत युवराज काफ्लेको रहेको छ।
यो चलचित्र काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र काठमाडौं उपत्यकामा डीसीएनमार्फत वितरण हुने छ। निर्माण पक्षका अनुसार चलचित्र यस वर्षको वडा दसैँभन्दा अगाडि नै प्रदर्शनमा आउनेछ।













प्रतिक्रिया