काठमान्डौ -चैत्र २७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन्।
शनिबारसम्म विकास बोर्डको तथ्यांक अनुसार फिल्मको कमाई करिब २ करोड ८० लाख रुपैयाँ थियो। तर, केही हलको व्यापार बोर्डमा समावेश नहुने भएकाले वितरकको हिसाबमा फिल्मको आम्दानी अझै माथि पुगेको शाहीको भनाइ छ।
यस्तै, फिल्मले अमेरिकाबाहेक अन्य विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले जानकारी दिएका छन्। अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ देखि २०० शोसहित फिल्म प्रदर्शनमा आउने तयारी रहेको छ। निर्माणपक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा विक्री गरेको जनाएको छ, जसबाट राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ।
ओएसआर डिजिटलबाट फिल्मले ७२ लाख रुपैयाँ प्राप्त गरेको निर्देशक माइकल चन्दले बताएका छन्। डिजिटल राइट्स विक्रीबाट पनि निर्माणपक्षलाई फाइदा पुगेको देखिएको छ।
करिब ३ करोड रुपैयाँ बजेटमा बनेको यस फिल्मबाट आफूहरू लगानी सुरक्षित हुने अवस्थामा पुगेको निर्देशक चन्दको भनाइ छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको व्यापारबाट निर्माणपक्ष उत्साहित देखिएको छ। पछिल्लो समय रिलिज भएका नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसकेको अवस्थामा ‘राम नाम सत्य’ले भने बक्स अफिसमा आशा जगाएको निर्माणपक्षको विश्वास छ।













प्रतिक्रिया