दीपक–दीपाश्रीले सुरु गरे ‘छ माया छपक्कै २’, दसैंमा आउने


काठमाडौं । निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ चलचित्र ‘‘छ माया छपक्कै २’ को शुभमुहूर्त भएको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो । छायांकन भने अबको तीन दिनपछि नुवाकोटबाट सुरु हुनेछ ।

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्रमा अघिल्लो भागका मुख्य जोडी दीपकराज गिरी र केकी अधिकारी नै मुख्य भूमिकामा देखिने भएका छन् । अभिनेत्री सनिशा भट्टराई पनि चलचित्रमा रहनेछिन् ।

दीपक–दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले चलचित्रको निर्माण गर्नेछन् । मुनाफाको हिस्सेदारीमा रहने गरी दीपक–दीपा समूह यो फिल्ममा जोडिएको हो । सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’मा पनि उनीहरूले यही सहमति अनुसार काम गरेका थिए ।

नुवाकोटसहित पोखरा र काठमाडौंमा छायांकन हुने यो फिल्म ‘छ माया छपक्कै’को सिक्वेल रहेको दीपाश्री निरौलाले जानकारी दिएकी छन् अघिल्लो भाग जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु हुनेछ । चलचित्र आगामी दसैंमा रिलिज गरिने भएको छ ।