फिल्म ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक


काठमाडौँ – अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले विवाहको उत्सवमय माहोलभित्र लुकेका जटिल पारिवारिक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। विशेषतः सम्पत्ति, दाइजो प्रथा र महिलाको सामाजिक अवस्थाजस्ता विषयमा फिल्मले गम्भीर प्रश्न उठाएको देखिन्छ।

ट्रेलरको सुरुवातमै ‘तिमीलाई थाहा नै छैन मेरो फेमिली कस्तो छ भनेर’ भन्ने संवादले कथा भित्रको द्वन्द्व र रहस्यको संकेत गर्छ। मुख्य भूमिकामा देखिएकी आँचलको अभिनय भावुक र गहिरो देखिन्छ। साथै अनुभवी अभिनेत्री निशा शर्मा को सशक्त उपस्थिति र संवादले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ।

फिल्ममा आँचल र निशासँगै उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। जर्मन निर्माता सारा फाजिलातसहित सामीप्यराज तिमल्सेना र अनुप पौडेल निर्माण टोलीमा आबद्ध छन्। निर्देशक सहारा शर्माको निर्देशनमा बनेको यस फिल्मलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्।

फिल्म ‘एक मुठ्ठी बादल’ आगामी १ जेठ (१५ मे) देखि प्रदर्शनमा आउनेछ भने नेपालमा यसको वितरण आरआर फिल्म्सले गर्नेछ।

कार्यक्रममा अभिनेत्री आँचल, उषालगायत कलाकारहरूले आफ्नो अभिनय अनुभवसमेत साझा गरेका थिए।