काठमाडौं – आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र “काजी”को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार निर्माण टिमले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा विपीन कार्की र केकी अधिकारी प्रेमिल भावमा प्रस्तुत छन्। उनीहरू एकअर्कालाई अँगालो हालिरहेको दृश्यले सिनेमाको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षमा केन्द्रित रहेको संकेत गर्छ।
पोस्टरमा विपीन परम्परागत ढाका टोपीसहित सर्ट–गञ्जीमा देखिएका छन् भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन्। यसले नेपाली संस्कृति र पारिवारिक परिवेशको झल्को दिन्छ। पृष्ठभूमिमा गाउँघर, तोरीका फूलले ढाकिएको खेत र पुरानो शैलीको घर देखिन्छ, जसले सिनेमा ग्रामीण परिवेशमा आधारित रहेको अनुमान गर्न सकिन्छ।
लक्ष्मण रिजाल निर्देशित यस चलचित्रलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन्। निर्माण टिमका अनुसार ‘काजी’ एक भावनात्मक तथा सामाजिक कथामा आधारित फिल्म हो, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विविध पक्षलाई उजागर गर्नेछ।
फिल्ममा विपीन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दिक्षिता अर्यालको अभिनय रहेको छ।
यसअघि नै फिल्मको पहिलो पोस्टर र प्रिभ्यू सार्वजनिक भइसकेका छन्, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ। निर्माण पक्षले छिट्टै ट्रेलर सार्वजनिक गर्ने जनाएको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको ‘काजी’ को कथा प्रदीप भारद्धाज ले लेखेका हुन्। चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता नेहान रिजाल र विकासराज जोशी हुन्। ‘काजी’ लाई श्रीराम बालाजी फिल्मस्ले देशव्यापी रूपमा प्रदर्शन गर्नेछ।














प्रतिक्रिया