पोखरा – चलचित्र पत्रकार संघ नेपाल कास्की को आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सम्पन्न ‘सिनेमा संवाद’ कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चुनौती, सम्भावना र बजार विस्तारबारे व्यापक छलफल गरिएको छ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी ले गर्दै सिनेमा समाजको ऐना मात्र नभई आर्थिक समृद्धिको माध्यम पनि भएको बताइन् । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी र वडा नं. ८ का अध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।
‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयक सत्रमा निर्देशक सामिप्यराज तिमिल्सिना ले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेको बताए । अभिनेत्री बेनिशा हमाल ले बलियो कथावस्तु भए बजेटले सिर्जनालाई नछेक्ने अनुभव सुनाइन् ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ सत्रमा अभिनेत्री आचल शर्मा ले नयाँ पुस्ताले फरक विषयवस्तुमा काम गर्नुपर्ने बताइन् । अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई ले चलचित्र निर्माण प्रणाली सुधार र महिला सशक्तीकरणसम्बन्धी फिल्म निर्माणमा जोड दिए ।
‘सिनेमामा द्वन्द्व’ विषयमा अभिनेता निखिल उप्रेती ले द्वन्द्व केवल एक्सन नभई परिस्थितिको स्पष्टता भएको बताए । निर्देशक मनोज पण्डित ले गुणस्तरीय नेपाली सिनेमा निर्माणमा जोड दिए ।
अन्तिम सत्रमा कन्टेन्ट क्रिएटर इस्टु कार्की र महेश भण्डारी ले सामाजिक सञ्जाल र सिनेमालाई एकअर्काका परिपूरक माध्यम भएको बताए ।
संघका अध्यक्ष सन्तोष बस्याल ले ‘सिनेमा संवाद’ ले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।


















प्रतिक्रिया