चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, हरिवंशले दिए पहिलो सट


काठमाडौं – चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न गरिएको छ । निर्माण टिमले आज स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरेको हो ।

निर्देशक तथा मुख्य कलाकारहरूको उपस्थितिमा ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कलाकार हरिवंश आचार्यले चलचित्रको पहिलो सट दिएका थिए । उक्त सटमार्फत चलचित्रको शीर्षकको अर्थ र भावलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

शुभमुहूर्त कार्यक्रममा हरिवंश आचार्यसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारहरूको उपस्थिति रहेको थियो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘चिरञ्जीवी भव’को छायांकन जेठ १५ गतेबाट सुरु हुनेछ । ४५ दिनको छायांकन तालिका रहेको चलचित्र धनकुटा, सुनसरी र काठमाडौंमा खिचिनेछ । चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

गत वर्षको ब्लकबस्टर चलचित्र ‘परान’ निर्देशन गरेका दीपकप्रसाद आचार्य ‘काकु’ले यस चलचित्र निर्देशन गर्न लागेका हुन् । ‘परान’ गत वर्ष सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्रमध्ये एक बनेको थियो ।

‘चिरञ्जीवी भव’मा निर्देशक दीपकप्रसाद आचार्यसँगै कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि सहकार्यमा छन् । कुमार कट्टेलको कथामा निर्माण हुन लागेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।

सोसल ड्रामा जनरामा निर्माण हुने चलचित्रले दुई पुस्ताबीचको वैचारिक दूरी, सम्बन्ध र भावनात्मक उतारचढावलाई मुख्य विषयवस्तु बनाउने बताइएको छ ।

चलचित्रमा हरिवंश आचार्य, प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, प्रशंसा रायमाझी, हरिस निरौला ‘कक्रोज’, सुमन कार्की र सुस्मिता कुँवरलगायत कलाकारहरूको अभिनय रहनेछ ।

उमेशकुमार बराल निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री रहेका छन् ।