काठमाडौं – गत वर्ष बक्स अफिसमा करिब ४ करोड ग्रस कलेक्शन गर्दै सफल बनेको चलचित्र ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ । निर्माण पक्षले ‘मन विनाको धन २’ निर्माणको औपचारिक घोषणा गरेको हो ।
यसपटक पनि चलचित्रको निर्देशन टंक बुढाथोकीले नै गर्नेछन् । टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रूपमा निर्माण हुन लागेको यस चलचित्रमा कथा र संगीतसमेत टंककै रहनेछ ।
पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । उनी अहिले चलचित्रको स्क्रिप्ट लेखन कार्यमा व्यस्त छन् ।
चलचित्रको मुख्य भूमिकामा नायिका पूजा शर्मा अनुबन्धित भएकी छन् । पूजा र टंक बुढाथोकीबीच आइतबार कागजी सम्झौता सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी गरिएको छ ।
निर्माण पक्षले अन्य कलाकारबारे भने हालसम्म खुलाएको छैन । टंक बुढाथोकीका अनुसार प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ र क्रमशः अन्य कलाकारहरू अनुबन्ध गरिनेछ ।
नायिका पूजा शर्माले पनि चलचित्रमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै कथावस्तु पारिवारिक र मन छुने रहेको बताएकी छन् । उनले टिम र आफ्नो भूमिकाले आकर्षित गरेको कारण परियोजनामा सहकार्य गरेको बताइन् ।
चलचित्र ‘मन विनाको धन २’लाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।
















प्रतिक्रिया