‘मितज्यू’को ट्रेलर सार्वजनिक, जेठ ८ बाट प्रदर्शनमा आउने…(हेर्नुस् ट्रेलर)


काठमाडौं – चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

ट्रेलरमा पेसाले चालक रहेका दुई मितबीचको गहिरो मित्रता, आपसी सम्बन्धमा आउने उतारचढाव र त्यसले निम्त्याउने टकरावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । साथै, पारिवारिक सम्बन्धभित्र देखिने भावनात्मक द्वन्द्वलाई पनि फिल्मले उठाउने संकेत ट्रेलरमार्फत देखाइएको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन र अनुषा राईलगायत कलाकारहरूको अभिनय रहेको छ ।

यस फिल्मबाट चर्चित डान्सर टेरिया फौजा मगरले अभिनेत्रीको रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी छन् । ट्रेलरमा उनको अभिनयलाई सशक्त रूपमा प्रस्तुत गरिएको देखिन्छ ।

फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् । यसअघि निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरले ‘घरज्वाइँ’मा सहकार्य गरेका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।