नेपालि युवाको जापानमा किर्तिमान: ३०९ रन बनाए विकास खड्काले


काठमाडौं । जापानमा रहेका नेपाली युवा क्रिकेटर विकास खड्काले जापान क्रिकेट इतिहासमै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाउँदै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

जापान क्रिकेट संघद्वारा आयोजित कम्युनिटी कप ४० ओभर लिगअन्तर्गत सम्पन्न खेलमा २० वर्षीय विकासले केवल १२९ बलमा अविजित ३०९ रनको विस्फोटक इनिङ खेले। उनले आफ्नो इनिङमा २५ चौका र २९ छक्का प्रहार गर्दै विपक्षी बलरमाथि पूर्ण दबाब सिर्जना गरेका थिए।

जापानको सानो क्रिकेट मैदानमा भएको उक्त खेलमा विकास सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका थिए। मैदानको चारैतिर आकर्षक सट खेल्दै उनले दर्शक र सहभागी खेलाडीहरूको विशेष ध्यान आकर्षित गरेका थिए।

उनकै ऐतिहासिक इनिङको मद्दतमा उनको टोलीले निर्धारित ४० ओभरमा ५११ रनको विशाल योगफल तयार गरेको थियो। यो स्कोर पनि प्रतियोगिताको एक उल्लेखनीय टोली प्रदर्शनका रूपमा हेरिएको छ।

क्लबका अनुसार विकासको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई जापानमा क्रिकेट खेलिरहेका नेपाली खेलाडीहरूको मेहनत, समर्पण र बढ्दो प्रभावको प्रतीकसमेत हो।

पछिल्लो समय जापानमा नेपाली समुदायबीच क्रिकेटप्रतिको आकर्षण बढ्दो क्रममा रहेको छ। विभिन्न प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली समुदायको पहिचानलाई थप मजबुत बनाइरहेका छन्।

क्लबले विकास खड्काको यस ऐतिहासिक उपलब्धिको व्यापक प्रचारप्रसार गर्न तथा जापानमा क्रिकेटको विकासमा योगदान पुर्‍याइरहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गरेको छ। साथै, यस्ता सफलताले विदेशमा रहेका नेपाली युवालाई खेलकुदमार्फत नयाँ पहिचान बनाउन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।