कैलाश खेरको स्वरमा ‘आइएम जितबहादुर’ को शीर्ष गीत सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौं – अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चर्चित बलिउड गायक कैलाश खेरको स्वर रहेको छ ।

यसअघि पनि कैलाश खेरले केही नेपाली फिल्मका गीतमा आवाज दिइसकेका छन् । गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द तथा बव एसएनको संगीत रहेको छ ।

शुभेन्दु घोष निर्देशित फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन् ।

छायांकनअघि जितुले यो फिल्म आफ्नो जीवनसँग आंशिक रूपमा मिल्ने बताएका थिए । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा र बालकलाकार साहरा शर्माको पनि अभिनय रहेको छ ।

कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् । राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् ।

फिल्म ‘आइएम जितबहादुर’ आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।