विपिन र केकीको ‘काजी’ ट्रेलर सार्वजनिक, प्रेम र सम्बन्धको कथा…(हेर्नुस् ट्रेलर)


काठमाडौं – विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले एक दम्पतीको प्रेम, संघर्ष र सम्बन्धभित्र आउने उतारचढावको कथा प्रस्तुत गरेको छ ।

फिल्ममा विपिन कार्कीले काजी र केकी अधिकारीले काजिनीको भूमिका निर्वाह गरेका छन् । ट्रेलर अनुसार, उनीहरूको आदर्श प्रेम समयसँगै आउने परिस्थितिजन्य समस्याले प्रभावित हुन्छ ।

परिवार जोगाउने क्रममा काजिनीले गरेको एउटा झूटले उनीहरूको सम्बन्धमा गहिरो प्रभाव पार्ने संकेत ट्रेलरमा देखाइएको छ ।

ग्रामीण परिवेशमा आधारित यस फिल्मलाई सरल तर भावनात्मक प्रेमकथाका रूपमा प्रस्तुत गरिएको छ । अभिनेता विपिन कार्कीले यसलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्ममध्ये एक हुने बताएका छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजले पटकथा लेखेका हुन् भने चिन्तन राजभण्डारीले छायांकन गरेका छन् ।

फिल्म ‘काजी’ आगामी ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा छ ।