निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘जलाकी’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो ।
शनिबार पोखरामै गीतको दृश्य खिचिएको थियो, जसमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ । छायांकन सकिएसँगै पोस्ट-प्रोडक्सनको काम पनि सुरु गरिएको निर्देशक अशोकले बताएका छन् । अब केही दिनमै फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जलाकी’मा अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् । ‘खुस्मा’पछि निर्देशक अशोकसँग उनको यो दोस्रो सहकार्य हो । ‘खुस्मा’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी थिइन् । त्यसैले ‘जलाकी’लाई लिएर उनी पनि निकै उत्साहित देखिएकी छन् ।
चलचित्रमा उपासनासँगै सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचामगर लगायतका कलाकारहरुको अभिनय रहेको छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बाल कलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनाहा मगर रहेका छन् । मिस सिक्किम साहारा हाङमा लिम्बुले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् ।
‘जलाकी’ मगर समुदायको आस्थासँग जोडिएको ढुङ्गाले चिनिने स्तम्भ हो, जसलाई सम्झना र मायाको प्रतीकका रुपमा निर्माण गर्ने गरिन्छ । यही सांस्कृतिक कथावस्तुमा आधारित भएर चलचित्र तयार गरिएको हो ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने निर्माण टिमको विश्वास छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
चलचित्रको डीओपी शैलेन्द्र डी कार्की हुन् भने लाइन प्रोड्युसरमा राजु रेग्मी मगर रहेका छन् । मुख्य सहायक निर्देशक महेश बराल हुन् । चलचित्रमा एसडी योगी र सरित राईको संगीत रहेको छ भने गीतमा सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टको शब्द सिर्जना रहेको छ ।
निर्देशक अशोक थापा मगरको डेब्यु निर्देशन रहेको ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामै १० करोड भ्युज प्राप्त गर्दै ऐतिहासिक रेकर्ड बनाएको थियो । ‘खुस्मा’ बक्स अफिसमा सफल भएपछि निर्माण टिम ‘जलाकी’लाई लिएर पनि निकै आशावादी देखिएको छ ।
















प्रतिक्रिया