निर्देशक निर शाह करिब एक दशकपछि चलचित्र निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गरेको नयाँ मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’ साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ । पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिना लाई रहस्यमय र मनोवैज्ञानिक भावमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गहिरो र संवेदनशील हुने संकेत गर्छ । निर्माण टिमले चलचित्रको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।
मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनय समेत रहेको छ । चलचित्रमा रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । चलचित्रको कथा विजय मल्ल को रहेको छ भने पटकथा तथा संवाद निर शाह र प्रजल दुलाल ले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदी ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।
यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका निर शाहको ‘कमला मिस’लाई अनुभव र सिर्जनशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले वितरण गर्नेछन् ।
















प्रतिक्रिया