दर्शक भन्छन् : “प्रेम होस् त काजीको जस्तो


शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काजी’ले दर्शकको मन जित्न सफल भएको छ । विशुद्ध प्रेमकथामा आधारित फिल्मले दर्शकलाई भावुक बनाएको छ भने हलबाट बाहिरिने अधिकांश दर्शकले एउटै प्रतिक्रिया दिइरहेका छन् — “प्रेम होस् त काजीको जस्तो ।”

प्रदर्शनको पहिलो र दोस्रो दिन अभिनेता बिपिन कार्की, अभिनेत्री केकी अधिकारी, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजाल काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका थिए । दर्शकले फिल्म हेरेपछि दिएको मायाले कलाकार टोली निकै उत्साहित देखिएको थियो ।

फिल्ममा ‘काजी’ र ‘कजिनी’को प्रेमकथालाई दर्शकले विशेष रूपमा रुचाएका छन् । धेरै दर्शकले “श्रीमान् होस् त काजी जस्तो”, “प्रेमी होस् त काजी जस्तो” भन्दै प्रतिक्रिया दिएका छन् । हलबाट बाहिरिने कतिपय दर्शक भावुक हुँदै फिल्मका दृश्य र संवाद सम्झिरहेका देखिन्थे ।

अभिनेता बिपिन कार्कीले दर्शक पात्र र कथासँग गहिरो रूपमा जोडिएको महसुस गरेको बताए । उनले भने, “शुक्रबार र शनिबार म काठमाडौंका धेरै हलमा पुगेँ । जहाँ गए पनि दर्शक भावुक देखिनुभयो । कतिपयले त ‘हामीलाई पनि काजी जस्तो श्रीमान् चाहियो’ भन्नुभयो । प्रेम होस् त काजीको जस्तो होस् भन्ने प्रतिक्रिया पाउँदा निकै खुशी लागेको छ ।”

उनले आफूले दर्शकसामु मन छुने प्रेमकथा प्रस्तुत गर्ने प्रयास गरेको र दर्शकले त्यसलाई आत्मसात् गरेको महसुस भएको बताए । बिपिनका अनुसार फिल्मले प्रेमलाई केवल संवाद र रोमान्समा सीमित नराखी त्याग, समर्पण, समझदारी र सम्बन्धको गहिराइमार्फत प्रस्तुत गरेको छ ।

निर्देशक लक्ष्मण रिजालले पनि दर्शकको प्रतिक्रियाले आफू ढुक्क भएको बताए । उनका अनुसार ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा होइन, प्रेम र सम्बन्धको भावनात्मक यात्रा हो ।

उनले भने, “मैले पर्दामा जुन भावना देखाउन खोजेको थिएँ, दर्शकले त्यसलाई बुझ्नुभएको छ । यो फिल्म हेरेपछि धेरैले काजीजस्तै प्रेमी वा श्रीमान् होस् भन्ने चाहना राख्नुहुनेछ, किनकि काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम साँच्चै अद्भुत छ ।”

अभिनेत्री केकी अधिकारीले पनि ‘काजी’ आफ्नो अभिनय यात्रामा विशेष फिल्म बन्ने विश्वास व्यक्त गरेकी छन् । फिल्ममा उनले निर्वाह गरेको ‘कजिनी’ पात्रको भावनात्मक पक्षलाई दर्शकले निकै मन पराइरहेका छन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रशंसा सुवेदी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा प्रदीप भारद्वाजले तयार गरेका हुन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटा को संगीत, सुजिल कर्माचार्यको पाश्र्व संगीत र कविराज गहतराजको नृत्य निर्देशनले फिल्मलाई थप आकर्षक बनाएको छ ।

अहिले सामाजिक सञ्जालदेखि हलसम्म ‘काजी’को चर्चा बढ्दो छ । दर्शकको प्रतिक्रियाले स्पष्ट देखाउँछ — ‘काजी’ केवल एउटा फिल्म होइन, मन छुने प्रेमको अनुभूति बनेर दर्शकमाझ पुगेको छ ।