पाँच पाण्डव को छायांकन सकियो, ६६ दिनमा प्याकअप


काठमाडौं – चलचित्र पाँच पाण्डव को छायांकन सम्पन्न भएको छ । चैत २ गतेबाट सुरु गरिएको चलचित्रको छायांकन ६६ दिनमा सकिएको निर्माण टिमले जनाएको छ ।

छायांकन सकिएको अवसरमा निर्माण टिमले ‘इन्ड क्ल्याप’ लेखिएको केक काट्दै खुसी साटेको थियो । निर्देशक वसन्त निरौला ले चलचित्र निर्माणमा कुनै सम्झौता नगरेको बताउँदै यसको प्रभाव पर्दामा पनि देखिने विश्वास व्यक्त गरे ।

काली रानी फिल्म्स को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली फिल्म क्षेत्रका अनुभवी तथा नयाँ पुस्ताका चर्चित कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिनेछन् ।

यस्तै चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरी लगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

लेखक सुशील पौडेल का अनुसार पाँच पाण्डव सामाजिक कथावस्तुमा आधारित चलचित्र हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र प्रतीकलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ ले यसअघि लाज शरणम् निर्माण गरेका थिए । चलचित्रको निर्माण काली रानी श्रेष्ठ ले गरेकी हुन् ।

झापाका विभिन्न रमणीय तथा महत्वपूर्ण स्थानमा छायांकन गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेल ले तयार पारेका हुन् भने छायांकन श्याम तामाङ ले गरेका छन् । चलचित्र नाम, कथा र कलाकारका कारण सुरुदेखि नै चर्चामा रहेको छ ।