काठमाडौं – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र लालीबजार ले नेपाली बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। निर्माण टिमका अनुसार चलचित्रले गत शनिबारसम्म ५ करोड ७६ लाख रुपैयाँको व्यापार गरिसकेको छ भने यो हप्ताभित्र ८ करोड नजिक पुग्ने अनुमान गरिएको छ।
यसैबीच, निर्माण कम्पनी षट्कोण आर्ट्स ले आमा र छोरीको सम्बन्धलाई समर्पित गीत ‘साहारा तिमी छौं’को भिडियो सार्वजनिक गरेको छ। यसअघि लिरिकल भर्सनमार्फत रुचाइएको गीतको भिडियोले पनि दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
आमा र छोरीको संघर्ष र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको गीतमा स्वस्तिमा खड्का, समाइरा थापा र प्रशंसा सुवेदी लगायत कलाकारहरू फिचर्ड छन्। गीतले चलचित्रको कथावस्तुको भावनात्मक पक्षलाई झल्काउने प्रयास गरेको छ।
गीतमा जयन जे वाइवा को शब्द तथा संगीत रहेको छ भने स्वर समीक्षा अधिकारी ले दिएकी छन्। बाल गायनमा दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङ रहेका छन् भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ। गीतमा छोरीप्रति आमाको माया, संघर्ष र त्यागलाई भावुक ढंगले प्रस्तुत गरिएको छ।
बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, प्रदीप ढकाल, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टल लगायत कलाकारहरूको अभिनय रहेको छ। यस चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका हुन्।
यम थापा को निर्देशनमा बनेको ‘लालीबजार’को पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन्।
चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्समा समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिकमा रोहित शाक्य र शैलेश श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइन तथा स्टाइलिङमा जानकी कडायत, मेकअपमा काव्या थापा तथा संगीतमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ।
















प्रतिक्रिया