प्रियंका र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘टिका’को छायांकन सुरु


काठमाडौं – भविष्य खड्काको निर्माणमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘टिका’ को छायांकन सुरु भएको छ। ‘जेरी अन टप’ की निर्माता भविष्य खड्काको यस फिल्मको छायांकन कास्की जिल्लाको पामे गाउँबाट औपचारिक रूपमा सुरु गरिएको हो।

निर्माण पक्षका अनुसार फिल्मको करिब ४० दिनको छायांकन तालिका तय गरिएको छ, जसअन्तर्गत कास्कीमै करिब ३० दिन छायांकन गरिनेछ। त्यसपछि फिल्मको बाँकी छायांकन काठमाडौं लगायत अन्य स्थानमा गरिनेछ।

महिलाप्रधान कथामा आधारित भनिएको यस फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल, आयुषी ढकाल लगायत कलाकारहरूको अभिनय रहनेछ।

फिल्मलाई भविष्य फिल्म्स र थर्ड आई आर्ट्सको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। कार्यकारी निर्माता तेजविक्रम केसी रहेका छन्।

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भनिएको यस फिल्मको निर्देशन शंकर कार्की ले गरिरहेका छन्। फिल्मको कथा शंकर कार्की र चन्दन झा ले तयार गरेका हुन् भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बीटी कान्छा) ले सम्हालेका छन्।

छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन् भने फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ।