परिचयपत्र वितरण ढिलाइका कारण रास्वपा बन्दसत्र आज स्थगित


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूलाई परिचयपत्र (आईडी कार्ड) वितरणमा ढिलाइ भएपछि आजका लागि स्थगित गरिएको छ।

महाधिवेशन आयोजक समितिका अनुसार देशभरबाट आएका प्रतिनिधिहरूको दर्ता र परिचयपत्र वितरण प्रक्रिया अपेक्षाभन्दा ढिलो भएपछि बन्दसत्र निर्धारित समयमा सञ्चालन गर्न नसकिएको हो। अब बन्दसत्र भोलिबाट औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ।

यससँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका एक दिन लम्बिएको छ। नेतृत्व चयन, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको छलफल, विधान संशोधन लगायतका कार्यक्रमहरू पनि नयाँ तालिकाअनुसार सञ्चालन हुनेछन्।

रास्वपाको प्रथम महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्। महाधिवेशनले आगामी नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशा तय गर्ने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।