भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका क्रममा प्रतिनिधि सूचीलाई लिएर विवाद उत्पन्न भएको छ। मधेश प्रदेश बारा क्षेत्र नं. ३ का निर्वाचित क्षेत्रीय सभापति भोला साह कानु ले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि आफ्नो नाम अन्तिम प्रतिनिधि सूचीबाट हटाइएको दाबी गरेका छन्।
कानुका अनुसार प्रारम्भिक प्रतिनिधि नामावलीमा उनको नाम समावेश भए पनि अन्तिम सूचीमा हटाइएपछि उनी महाधिवेशन प्रक्रियाबाट वञ्चित भएका छन्। उनले यसलाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन्।
रास्वपाले भने उक्त निर्णय अनुशासन र निर्वाचन प्रक्रियासम्बन्धी विषय भएको जनाएको छ। पार्टीका सहमहामन्त्री गणेश धिमाल ले यो निर्वाचन समितिको क्षेत्राधिकारभित्रको विषय भएको र कानुविरुद्ध यसअघि नै कारबाहीको सिफारिस भएको बताएका छन्।
विवादको केन्द्रमा बारा जिल्लाका पूर्व जिल्ला सभापति चन्दन स्वर्णकार माथिको कारबाहीसमेत रहेको बताइएको छ। कानुले स्वर्णकारको साधारण सदस्यता फुकुवा गर्नुपर्ने मागसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
यस घटनापछि रास्वपाभित्र आन्तरिक लोकतन्त्र, फरक मतको व्यवस्थापन तथा नेतृत्व चयन प्रक्रियाबारे बहस चुलिएको छ। पार्टी नेतृत्व र असन्तुष्ट पक्षका दाबीबीच सत्यता के हो भन्ने विषय भने थप स्पष्ट हुन बाँकी छ।

















प्रतिक्रिया