रास्वपा महाधिवेशनमा रवि लामिछानेको सन्देश: “गुट होइन, विवेकले पार्टी चल्छ”
रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीभित्र गुट–उपगुट नबनाउन निर्देशन दिएका छन्। उनले गुटबन्दीले पार्टीलाई पुराना दलहरूको जस्तै अवस्थामा पुर्याउने चेतावनी दिँदै फरक परिणाम चाहिने हो भने फरक अभ्यास आवश्यक रहेको बताए।
उनले प्रतिनिधिहरूलाई नेतृत्व चयनमा स्वतन्त्र रूपमा विवेक प्रयोग गर्न आग्रह गर्दै भने, “५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभएको हो, अब हामीले पनि त्यही विवेक प्रयोग गर्नुपर्छ।”
महाधिवेशन प्रतिनिधिबाट उठाइएको पाँच हजार रुपैयाँ शुल्क ऐच्छिक बनाइएको जानकारी दिँदै उनले आवश्यक परे फिर्ता लिन सकिने बताए। आर्थिक रूपमा सक्षम प्रतिनिधिहरूले अन्य साथीहरूको सहयोग गर्न सक्ने सुझाव पनि दिए।
नेतृत्व चयन प्रक्रियाबारे बोल्दै लामिछानेले आफू कुनै उम्मेदवारको पक्षमा नरहेको स्पष्ट पारे। “निर्वाचनमा जसले जिते पनि घण्टीबाहक जित्छ,” भन्दै उनले प्रतिनिधिहरूलाई कसैको दबाबमा नभई आफ्नै निर्णयअनुसार मतदान गर्न आग्रह गरे।
सांसद वा मन्त्री भइसकेकाहरूलाई उम्मेदवार बन्न नदिने भन्ने चर्चा निराधार रहेको बताउँदै उनले सबै सदस्यलाई आफ्नो योग्यता र क्षमताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताए। उनका अनुसार रास्वपा ‘ह्वीप’ भन्दा बढी ‘विवेक’ को आधारमा चल्ने पार्टी हो।
पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई सार्वजनिक विवादको विषय नबनाई आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै उनले स्वस्थ, स्वच्छ र विवादरहित महाधिवेशन सम्पन्न गरेर नयाँ राजनीतिक संस्कृतिको उदाहरण प्रस्तुत गर्न आग्रह गरे।
सभापति लामिछानेको उद्घाटन मन्तव्यपछि बन्दसत्रका औपचारिक कार्यक्रम सुरु भएका छन्। आजै बन्दसत्र टुंग्याएर नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

















प्रतिक्रिया