रास्वपा महाधिवेशनः आज ९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन, ४ सयभन्दा बढी उम्मेदवार मैदानमा
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज ९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुँदैछ। विभिन्न पदका लागि ४ सयभन्दा बढी नेताकार्यकर्ताले उम्मेदवारी दिएका छन्, जसका कारण निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ।
महाधिवेशनमा देशभरबाट आएका हजारौं प्रतिनिधिहरूले मतदान गर्नेछन्। रास्वपाले निर्वाचन प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारी गरेको जनाएको छ। निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्रै प्रारम्भिक नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। यसका लागि विशेष निर्वाचन समिति तथा प्राविधिक टोली परिचालन गरिएको छ।
पार्टी नेतृत्वले सकेसम्म सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास गरे पनि आकांक्षीको संख्या धेरै भएकाले अधिकांश पदमा निर्वाचन अनिवार्य बनेको हो। महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ।
आजको निर्वाचनबाट चयन हुने ९९ सदस्यीय केन्द्रीय समितिले आगामी कार्यकालमा पार्टीको संगठनात्मक दिशा, नीति निर्माण तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। पहिलो महाधिवेशन भएकाले यसको परिणामलाई रास्वपाको भावी राजनीतिक यात्रा र संगठनात्मक संरचनाका लागि महत्वपूर्ण मानिएको छ।

















प्रतिक्रिया