गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको फिल्म हाल पनि देशका विभिन्न हलहरूमा सफल प्रदर्शनरत छ।
फिल्मले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल र सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सीके सिनेमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, बुटवलको फ्रेन्ड्स सिनेमाज, इलाम तथा नेपालगञ्जको सिने रोयलमा ५१औँ दिनसम्म प्रदर्शन जारी राखेको छ।
फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले दर्शकले दिएको साथप्रति आभार व्यक्त गर्दै ५१औँ दिनको अवसरमा निर्माण टिम दिनभर विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको जानकारी दिए। उनले भने, ‘षट्कोण आट्र्सका अघिल्ला फिल्मझैँ यसपटक पनि दर्शकले अपार माया दिनुभएको छ। यो मायाको ऋण शब्दले तिर्न सकिँदैन, त्यसैले आज हामी हल–हलमा पुगेर दर्शकलाई धन्यवाद दिइरहेका छौँ।’
भट्टराईका अनुसार ‘लालीबजार’ अब अन्तर्राष्ट्रिय प्रदर्शन यात्रामा पनि अघि बढेको छ। हाल युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको फिल्म क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकासहित अन्य मुलुकमा पनि प्रदर्शन गरिने तयारी भइरहेको उनले बताए।
विसं २०८३ मा हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सर्वाधिक सफल फिल्ममध्ये एक बनेको छ। घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको फिल्म अहिले १० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ।
यम थापा निर्देशित फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्।
फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरबल चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली चलचित्रमा डेब्यु गरेका छन्। विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी नयाँ अभिनेत्रीका रूपमा परिचित छिन्।
यसअघि षट्कोण आट्र्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल नेपाली फिल्म निर्माण गरिसकेको छ।

















प्रतिक्रिया