काठमाडौं – निर्देशक टंक बुढाथोकीको फिल्म ‘मन विनाको धन २” मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पूजा शर्मा र महेश त्रिपाठीपछि विपिनको प्रवेशसँगै फिल्मको कलाकार टोली थप सशक्त बनेको छ।
फिल्ममा विपिनले कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने विषय भने निर्माण टिमले हालसम्म गोप्य राखेको छ। यद्यपि, उनी यस फिल्ममार्फत फरक शैलीको पात्रमा प्रस्तुत हुने निर्देशकको दाबी छ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा निर्देशन टंक बुढाथोकीले नै गर्दैछन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ।
यसअघि नै फिल्मका लागि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र किरण केसी अनुबन्धित भइसकेका छन्। विशेषतः पूजा शर्मा र विपिन कार्की पहिलो पटक एउटै फिल्ममा सहकार्य गर्न लागेकाले उनीहरूको पर्दाको केमेस्ट्रीप्रति दर्शकमाझ उत्सुकता बढेको छ।
सामाजिक कथावस्तुमा आधारित यस फिल्मबारे निर्देशक टंक बुढाथोकीले भने, “हामी केही सातादेखि विपिनजीसँग छलफलमा थियौं। उहाँलाई कथा निकै मन पर्यो र सकारात्मक रूपमा जोडिनुभयो। दर्शकले उहाँलाई यस फिल्ममा नयाँ अवतारमा देख्न पाउनेछन्।
गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ ले बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो। पहिलो श्रृंखलाको सफलताबाट उत्साहित निर्माण टिमले ‘मन विनाको धन २’ लाई अझै भव्य र सशक्त रूपमा दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

















प्रतिक्रिया