लोड भएको पेस्तोल ,गोली नगद र ट्याब्लेटसहित रौतहटमा एकजना पक्राउ


जनकपुर। रौतहट जिल्लाको गरुडा नगरपालिका–५ झाझपुलस्थित एक मदिरा पसलबाट एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार गरुडा नगरपालिका–९ बिर्ता निवासी अन्दाजी ४२ वर्षीय सदरे आलमलाई गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा शरीर खानतलासी गर्दा उनको कमरमा भिरेको अवस्थामा एक नाल कटुवा पेस्तोल फेला परेको थियो।

पक्राउपछि गरिएको सोधपुछका क्रममा सदरे आलमले मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद लुकाएर राखेको बताएका थिए। त्यसपछि उनको उपस्थितिमै गरिएको खानतलासीमा कटुवा पेस्तोलमा प्रयोग हुने चार थान लाइभ राउण्ड गोली, एक थान ब्ल्याङ्क राउण्ड, कालो रङको पर्सभित्र भारतीय २४ हजार ५०० रुपैयाँ, नेपाली ३२ हजार ५०० रुपैयाँ तथा दुई वटा नाइट्राभेट ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।