‘गौंथली’को अमेरिका राइट्स बिक्री, साउन ८ देखि अमेरिकामा प्रदर्शन हुने


काठमाडौं – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौंथली’ को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। अमेरिकास्थित सेभेन सिस इन्टरनेसनल फिल्म्स ले चलचित्रको अमेरिका राइट्स खरिद गरेको हो।

अधिकार खरिद–बिक्रीसम्बन्धी सम्झौतामा चलचित्रका निर्देशक डा. कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदीले हस्ताक्षर गरेका छन्।

प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री प्रक्रिया अघि बढाएको हो। निर्देशक रिजालका अनुसार चलचित्रप्रति दर्शकको चासो बढ्दै गएसँगै ओभरसिज बजारबाट पनि प्रदर्शन अधिकारका लागि माग बढ्न थालेको छ।

नेपालमा साउन १ गतेदेखि प्रदर्शनमा आउने ‘गौंथली’ एक सातापछि अर्थात् साउन ८ गते (जुलाई २४) देखि अमेरिकाका विभिन्न प्रमुख सहरमा एकसाथ प्रदर्शन गरिनेछ।

निर्देशक रिजालले चलचित्रको चर्चा बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारबाट लगातार सोधपुछ भइरहेको बताए। उनका अनुसार सकारात्मक माहोलका कारण अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीको प्रक्रिया अघि बढिरहेको छ।

चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको निर्माण टिमले जनाएको छ। बढ्दो चर्चा र सकारात्मक प्रतिक्रियाले चलचित्रले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपाली चलचित्र इतिहासकै पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) का रूपमा परिचित छ। प्रदर्शनका क्रममा उक्त चलचित्रले ५१ दिन सफल प्रदर्शन गरेको थियो। यसपटक सोही नाममा डा. भोला रिजालका छोरा डा. कपिल रिजालले नयाँ कथासहित चलचित्र निर्देशन गरेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ।