काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको पहिलो फिचर फिल्म ‘मास्टर्नी’को प्रचारका लागि गायक दुर्गेश थापाले विशेष उपहार दिएका छन्। उनले फिल्मका लागि अडियो र भिडियोसहितको गीत आफ्नै खर्चमा तयार गरेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको प्रमोसनल गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ भने गायनमा उनलाई बबिना किरातीले साथ दिएकी छन्।
गीतको भिडियोमा दुर्गेश थापासँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका छन्।
कार्यक्रममा बोल्दै प्रियंकाले दुर्गेशले उक्त गीत आफूलाई कोसेलीका रूपमा दिएको बताइन्।
उनले भनिन्, “फिल्मको यो गीत दुर्गेशजीले मलाई कोसेली स्वरूप दिनुभएको हो। यो पैसाबिनाको साटासाट हो। अडियो र भिडियो दुवै उहाँ आफैंले तयार गर्नुभएको हो। फिल्मको देशव्यापी कन्टर्समा पनि उहाँ आउँदै हुनुहुन्छ। त्यसमा पनि पैसा लिनुभएको छैन। यो मेरो लागि ठूलो कुरा हो।”
यसअघि चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’मा सहकार्य गरेपछि प्रियंका र दुर्गेशबीच राम्रो सम्बन्ध बनेको थियो।
शुभेन्द्र घोषको निर्देशनमा बनेको ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदै छ। फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का र अनुप विक्रम शाहीलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्।

















प्रतिक्रिया