काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकारहरूमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो।
पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच पटक–पटक भएको छलफलबाट सहमति नजुटेपछि एमालेसँगको गठबन्धनबाट पछि हट्ने निष्कर्षमा कांग्रेस पुगेको हो।
कांग्रेसका एक पदाधिकारीले भने, हाम्रा सातवटै प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं।
यसअघि मंगलबार कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ।
हाल कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेको छ। अब बाँकी प्रदेशहरूमा पनि एमाले–कांग्रेसबीचको सत्ता सहकार्य अन्त्य हुने संकेत देखिएको छ।
स्रोतका अनुसार कांग्रेसभित्र नेकपा (माओवादी केन्द्र)सँग नयाँ राजनीतिक समझदारी बने सरकारमा रहने, अन्यथा सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने विकल्पबारे अनौपचारिक छलफल भइरहेको छ। यस विषयमा अन्तिम निर्णय भने पार्टीको औपचारिक बैठकबाट हुने जनाइएको छ।

















प्रतिक्रिया