काठमाडौं । नेपालकै चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन्। विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै उनीहरूले टप–१० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
उत्कृष्ट १० मा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी छनोट भएका छन्।
यस सिजनका लागि हजारौं डिजिटल आवेदन प्राप्त भएका थिए। त्यसपछि पोखरा, बुटवल, इटहरी, काठमाडौं तथा भारतको सिलिगुडीमा समेत फिजिकल अडिसन सञ्चालन गरिएको थियो। ती अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूले विभिन्न राउन्ड पार गर्दै अन्ततः उत्कृष्ट १० मा स्थान बनाउन सफल भएका हुन्।
टप–१० मा पुगेका प्रतिस्पर्धीहरूले आ–आफ्नो फरक र्याप शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन्। आगामी एपिसोडमा उनीहरूबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक र कडा हुने अपेक्षा गरिएको छ।
रेड बुलको प्रस्तुतिमा निर्माण भइरहेको ‘नेपहपको श्रीपेच’ सिजन ३ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ। कार्यक्रम हरेक मंगलबार र बुधबार एपी वान टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ।
यस सिजनको विजेताले १० लाख रुपैयाँ नगद, वर्ल्ड टुरको अवसर तथा विभिन्न ब्रान्ड एन्डोर्समेन्ट प्राप्त गर्नेछन्। यस्तै, उपविजेताले ५ लाख रुपैयाँ नगदसहित विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन्।
दामी मिडियाले निर्माण गरिरहेको यस रियालिटी शोमा भ्योमा, मानस घले, यूएनडीबी (UNDB) र योद्धा निर्णायकका रूपमा रहेका छन्।

















प्रतिक्रिया