बागमतीका मुख्यमन्त्री बानियाँले गरे ६ वटा मन्त्रालय खारेज अब ८ मात्रै रहने


काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार ६ वटा मन्त्रालय खारेज गर्दै नयाँ मन्त्रालय कार्यविभाजनको सिफारिस प्रदेश प्रमुख कार्यालयमा पठाएका हुन्।

नयाँ संरचनाअनुसार खारेज गरिएका मन्त्रालयका मन्त्रीहरूलाई विना विभागीय जिम्मेवारीमा राख्ने सिफारिस गरिएको छ। कांग्रेस र एमालेका किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा तथा बिनुकुमारी रायमाझी पौडेल अब विना विभागीय मन्त्री रहनेछन्।

यसअघि गत वैशाख २२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्र कायम गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नयाँ मन्त्रालय संरचना साउन १, २०८३ देखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।