‘एक्का तीन’मा पूजा शर्मा र कविता नेपाली आमनेसामने


काठमाडौं – अभिनेत्री तथा मोडल कविता नेपाली निर्देशक रुपेश तामाङको नयाँ चलचित्र ‘एक्का तीन’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन्। उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले औपचारिक रूपमा अनुबन्धको घोषणा गरेको हो।

यसअघि नै चलचित्रका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का फाइनल भइसकेका छन्। कविताको प्रवेशसँगै फिल्मका मुख्य तीन पात्रको लाइनअप पूरा भएको निर्माण टिमले जनाएको छ। चलचित्रको छायांकन भदौ महिनादेखि सुरु गर्ने तयारी छ।

निर्देशक रुपेश तामाङका अनुसार ‘एक्का तीन’ एक्सन जनरामा आधारित फिल्म हो। उनले कविताको एक्सन अभिनयप्रति दर्शकको सकारात्मक प्रतिक्रिया रहेकाले उनलाई जन्मदिनकै अवसर पारेर फिल्ममा अनुबन्ध गरिएको बताए।

निर्देशक तामाङले चलचित्रमा पूजा शर्मा र कविता नेपालीबीचको सशक्त भिडन्त दर्शकका लागि मुख्य आकर्षण बन्ने दाबी गरेका छन्।

तीन मुख्य पात्रको कथामा आधारित चलचित्र जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका छन्।

अभिनेत्री कविता नेपाली यसअघि ‘एक्लो’ चलचित्रमा एक्सन भूमिकामा देखिएकी थिइन्। उक्त चलचित्रमा उनको एक्सन अभिनयलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। अब ‘एक्का तीन’मार्फत उनी फेरि एकपटक एक्सन अवतारमा देखिने भएकी छन्।