स्वदेश फर्कंदै देउवाको चेतावनी: सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराउँदै देशलाई अहिले प्रतिशोधको राजनीति होइन, राष्ट्रिय एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।

स्वदेश फर्किने तयारीबारे जारी गरेको सन्देशमा देउवाले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको ज्ञान, प्रविधि र सिर्जनशीलतालाई एकै ठाउँमा जोडेर राष्ट्रिय सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“प्रतिशोध होइन, सहकार्य चाहिएको छ। त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,” देउवाले सन्देशमा उल्लेख गरेका छन्।

उनले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण र साझा भविष्यलाई साझा संकल्प बनाउनुपर्नेमा जोड दिएका छन्। सोही विश्वासका साथ आफू पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको पनि उनले बताएका छन्।

देउवाले वर्तमान परिस्थितिले सबैलाई अझ व्यापक दृष्टिकोण, गहिरो सहकार्य र दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको उल्लेख गर्दै देशलाई विभाजन होइन, एकता र अविश्वास होइन, विश्वासको राजनीति आवश्यक रहेको बताएका छन्।

“सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,” उनले सन्देशमा भनेका छन्।

स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवा १३ फागुन २०८२ मा सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका उनी अब उपचारपछि स्वदेश फर्कन लागेका हुन्।