काठमाडौं – निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशित नयाँ नेपाली चलचित्र ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक भएसँगै निर्माण पक्षले आकर्षक टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता घोषणा गरेको छ।
निर्माण ब्यानरका अनुसार TikTok, Facebook, Instagram Reels तथा YouTube Shorts मा उक्त गीतमा आधारित भिडियो तयार गरी प्रतियोगितामा सहभागी हुन सकिनेछ। भिडियो पोस्ट गर्दा #Chamelikopoi, #Ashoj16CKP र #OioiChameli ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।
प्रतियोगिताका उत्कृष्ट चार विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार, तृतीयले १५ हजार र चौथो स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेता छनोट भिडियोको मौलिकता, प्रस्तुति र सिर्जनात्मकताका आधारमा गरिने निर्माण पक्षले जनाएको छ।
सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको छ। गीतका शब्द निर्देशक एभरेष्ट सूर्य बोहराले लेखेका हुन् भने संगीत पनि राजनराज शिवाकोटीकै रहेको छ। कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर्ड छन्।
पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको ‘चमेलीको पोइ’बाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) नेपाली चलचित्रमा पुनरागमन गर्दैछन्।
फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायणलगायत कलाकारहरूको अभिनय रहेको छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन शेरबहादुर तामाङले गरेका हुन्। सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मका उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता हुन्। सहनिर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा रहेका छन्।
फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।
‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

















प्रतिक्रिया