चलचित्र ‘एक्का मिस्सी बादशाह’ घोषणा, सम्राज्ञीको बोल्ड कमब्याक


काठमाडौं – यूकेमा बस्दै आएका सञ्जय राईले निर्देशनमा डेब्यु गर्दै नयाँ नेपाली चलचित्र ‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो।

अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने यस चलचित्रमा उनले ‘आश’ पात्र निर्वाह गर्नेछिन्। केही समयपछि नयाँ चलचित्रमा फर्किएकी सम्राज्ञीले आफूलाई निकै मन परेको साहसी, बोल्ड र फरक पात्रका कारण यो चलचित्र रोजेको बताइन्।

निर्देशक राईका अनुसार चलचित्र युवापुस्ताको प्रेम, मित्रता, सम्बन्ध, सामाजिक सञ्जालको प्रभाव र जीवनका उतारचढावमा आधारित हुनेछ। चलचित्रको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने चलचित्रको छायांकन आगामी फागुनबाट सुरु हुनेछ। निर्माण टिमले ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि अडिसनसमेत खुला गरेको जनाएको छ।