काठमाडौं – आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीतमा लोक फ्लेभरसँगै प्रेम र उत्साहको मिश्रण प्रस्तुत गरिएको छ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका छन्। गीतको भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङको आकर्षक नृत्य, रोमान्टिक केमेस्ट्री र ऊर्जा देख्न सकिन्छ। कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।
गीत सार्वजनिक गर्दै निर्माता तथा संगीतकार अर्जुन पोखरेलले यो गीत चलचित्रको प्रचार–प्रसारका लागि विशेष रूपमा तयार गरिएको बताए। यसअघि सार्वजनिक भएको चलचित्रको फर्स्ट लुक पोस्टरले राम्रो चर्चा बटुलेको उल्लेख गर्दै उनले नयाँ गीतले पनि दर्शकमाझ चलचित्रप्रतिको उत्साह अझ बढाउने विश्वास व्यक्त गरे।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल रहेका छन्। चलचित्रको छायांकन नरेन्द्र मैनालीले, सम्पादन विकास दाहालले तथा एक्सन कोरियोग्राफी रोशन श्रेष्ठले गरेका छन्। चलचित्र काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यका बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


















प्रतिक्रिया