काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘मास्टर्नी’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ। टिजरले आफ्नी छोरीको सुरक्षाका लागि एक आमाले गर्ने संघर्षलाई भावनात्मक र रहस्यमय ढंगले प्रस्तुत गरेको छ।
टिजरको सुरुवात जंगलमा एक महिलाको हत्या भएको दृश्यबाट सुरु हुन्छ। त्यसपछि प्रियंकाको ‘भ्वाइस ओभर’मार्फत छोरीको सुरक्षा नै आफ्नो जीवनको सबैभन्दा ठूलो जिम्मेवारी भएको सन्देश सुनिन्छ। आमा–छोरीको भावनात्मक सम्बन्ध, प्रहरी अनुसन्धान र एसिड आक्रमणका दृश्यले चलचित्रको कथा रहस्यमय हत्या र सामाजिक यथार्थसँग जोडिएको संकेत गर्छ।
शुभेन्द्र घोषको निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्की, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का र दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ। आयंका फिल्म्सको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्।
प्रियंकाकै कथामा आधारित चलचित्रको पटकथा शान बस्नेतले लेखेका छन् भने संवाद प्रियंका र शानले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्र भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


















प्रतिक्रिया