काठमाडौं – पहिलो फिल्म ‘महापुरुष’ बाटै आकर्षक प्रस्तुति र सशक्त अभिनयका कारण दर्शकको ध्यान खिच्न सफल अभिनेता अरुण क्षेत्री अहिले फिल्म ‘गौँथली’ को ऐतिहासिक सफलतासँगै नेपाली फिल्म उद्योगका चर्चित स्टारका रूपमा स्थापित हुँदैछन्।
एकल नायकका रूपमा प्रस्तुत भएको ‘गौँथली’ले प्रदर्शनको १० दिनमै करिब साढे ७ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। फिल्म केही दिनमै १० करोड क्लब मा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
फिल्ममा अरुणले अटिजम भएका ‘ठूले’ पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। उनको भावपूर्ण अभिनय, पात्रको संवेदनशीलता र प्रेमकथाको प्रस्तुतिले दर्शक तथा समीक्षकबाट व्यापक प्रशंसा बटुलेको छ। धेरैले ‘ठूले’लाई अरुणको करिअरकै उत्कृष्ट अभिनयमध्ये एक मानिरहेका छन्।
‘गौँथली’को सफलतासँगै अरुणको व्यावसायिक मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। दाङका उनीसँग अहिले आधा दर्जनभन्दा बढी नयाँ फिल्मका प्रस्ताव पुगेका छन्। अरुण भन्छन्, ‘गौँथलीपछि लगातार फिल्मका अफर आइरहेका छन्। अहिले विभिन्न कथा पढिरहेको छु। दर्शकले दिएको अथाह मायाले ममाथि अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको छ।’
निर्माता तथा निर्देशकहरू पनि अहिले अरुणलाई लिएर नयाँ परियोजना अघि बढाउन इच्छुक देखिएका छन्। दर्शकको अपेक्षा बढेकाले आगामी दिनमा अझ परिपक्व र जिम्मेवार भएर काम गर्ने उनले बताएका छन्।
यस्तै, प्रदर्शनको १० औं दिनमै ‘गौँथली’ चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने ब्लकबस्टर फिल्म को सूचीमा समेत समावेश भइसकेको छ। फिल्मले पल शाह अभिनित ‘मोहर’, समीर भट्टको ‘बलिदान’ र प्रदीप खड्का अभिनित ‘पूजार सार्की’ को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको दाबी गरिएको छ। यही लय कायम रहेमा नेपाली फिल्मका चर्चित स्टारहरूको धेरैजसो लाइफटाइम व्यापारलाई समेत ‘गौँथली’ले पछि पार्ने अनुमान गरिएको छ।
‘गौँथली’को सफलताले अरुण क्षेत्रीलाई केवल उत्कृष्ट अभिनेता मात्र होइन, व्यावसायिक रूपमा पनि भरोसायोग्य स्टारका रूपमा स्थापित गरेको छ। यही निरन्तरता कायम रह्यो भने उनी नेपाली फिल्म उद्योगका प्रभावशाली नायकहरूको अग्रपंक्तिमा स्थायी स्थान बनाउन सफल हुने धेरैको विश्वास छ।


















प्रतिक्रिया