काठमाडौं – चर्चित स्टोरीटेलर तथा अभिनेता साइग्रेस पोखरेललाई मुख्य भूमिकामा लिएर फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो।
यो साइग्रेसको अभिनय करिअरको तेस्रो फिल्म भए पनि मुख्य अभिनेताका रूपमा भने पहिलो फिल्म हुनेछ।
सार्वजनिक पोस्टरमा साइग्रेसलाई केन्द्रमा प्रस्तुत गरिएको छ। उनी स्कुटरको पछाडि उल्टो बसेर हाँसिरहेको देखिन्छन्। घाँटीमा निलो रङको ल्यानयार्ड लगाएकाले फिल्ममा उनी पत्रकार वा कर्मचारीको भूमिकामा देखिन सक्ने संकेत गरिएको छ। पोस्टरले उनको पात्र हास्यप्रधान हुने अनुमान गर्न सकिन्छ।
राजकुमारको निर्देशनमा बन्ने फिल्ममा साइग्रेसबाहेक अन्य कलाकारको टुंगो लाग्न बाँकी छ। निर्माण पक्षले अर्को सातादेखि कलाकार तथा प्राविधिक टोलीबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।
द्रव्य प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी कात्तिकदेखि सुरु गरिनेछ। निर्माण लागत करिब दुई करोड रुपैयाँ रहने अनुमान गरिएको छ।
फिल्म घोषणा कार्यक्रममा साइग्रेसले ‘आ बाट आमा’पछि फिल्म नगर्ने सोच बनाएको भए पनि अभिनयप्रतिको आकर्षणले आफूलाई फेरि पर्दामा फर्काएको बताए।
साइग्रेसले भने, ‘मैले ‘आ बाट आमा’पछि अरू फिल्म खेल्दिनँ भन्ने सोचेको थिएँ। तर, यो नशा रहेछ। खेल्दिनँ भन्दा भन्दै तीनवटा फिल्म पुगिसक्यो। ‘फलानो ढिस्कानो’ चाहिँ कथा सुनेपछि छाड्नै सकिनँ।’


















प्रतिक्रिया