सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिले दर्शक मन्त्रमुग्ध


काठमाडौं – अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा नेपाली चलचित्र ‘मालती मंगले’को रेड कार्पेट प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालको उपस्थितिमा आयोजित कार्यक्रममा २०० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शक पुगेपछि शो हाउसफुल मात्र नभई ओभरफ्लो भएको थियो।

प्रिमियरमा सिड्नीमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। दर्शकले चलचित्रको कथावस्तु र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका थिए। विशेषगरी वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह र प्रकाश घिमिरेको अभिनयले दर्शकको मन जितेको प्रतिक्रिया आएको निर्माता ढकालले बताए।

चलचित्र प्रदर्शनपछि आयोजित सांगीतिक कार्यक्रममा रामकृष्ण ढकालले आफ्ना आठ लोकप्रिय गीत प्रस्तुत गरेका थिए। उनलाई ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी तथा हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमालले चार युगल गीतमा साथ दिएकी थिइन्।

निर्माता ढकालका अनुसार ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन अभियानअन्तर्गत यसअघि अमेरिका र क्यानडामा पनि चलचित्र प्रदर्शन तथा सांगीतिक कार्यक्रम सम्पन्न भइसकेका छन्। अब यो अभियान युरोपसहित अन्य देशहरूमा विस्तार गरिनेछ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। चलचित्रमा सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि अभिनय रहेको छ।