रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, गृहमन्त्रीसंग औपचारिक सम्झौताको माग


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएपछि उनका परिवारले शव नबुझ्ने अडान लिएको छ।

परिवार र आफन्तले सरकारसँग औपचारिक सम्झौता नभएसम्म शव नबुझ्ने र अन्त्येष्टि नगर्ने स्पष्ट पारेका छन्। उनीहरू शिक्षण अस्पताल परिसरमा भेला भई आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिइरहेका छन्।

आफन्तहरूले गृहमन्त्री स्वयं उपस्थित भई आफ्ना मागबारे स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने सर्तसमेत अघि सारेका छन्। अस्पताल परिसरमा स्थानीय तथा आफन्तहरूको उपस्थिति बढ्दै गएको छ भने ठोस सहमति नभएसम्म नफर्किने अडान उनीहरूले दोहोर्‍याएका छन्।

यसअघि कप्तानगञ्ज घटनामा ज्यान गुमाएका अन्य तीन जनाका परिवारसँग सरकारले शहीद घोषणा, उचित आर्थिक राहत तथा परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने लगायतका बुँदामा सम्झौता गरेको थियो। रवीन्द्र मेहताका परिवारले पनि सोही प्रकृतिको सम्झौता र प्रतिबद्धता राज्य पक्षबाट प्राप्त नभएसम्म शव नउठाउने अडान कायम राखेका छन्।