दाङका विभिन्न सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद


दाङ । दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न वन क्षेत्रमा खोजतलास अभियान सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ नाल भरुवा बन्दुक बरामद गरिएको हो।

त्यसैगरी, लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

बरामद भएका सबै भरुवा बन्दुकका नाल बेवारिसे अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।