१२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी


रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परेर आगलागी भएको छ।

बाराको अमलेखगञ्ज डिपोबाट पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर अनियन्त्रित भई पल्टिँदा एक्कासि आगलागी भएको हो।

दुर्घटनापछि ट्याङ्करमा भीषण आगो लागे पनि चालकले समयमै गाडीबाट बाहिर निस्कन सफल भएकाले कुनै मानवीय क्षति भएको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार घटनामा चालक सकुशल रहेका छन्।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र दमकलको संयुक्त टोली परिचालन भई आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। आगलागीका कारण केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले यातायात सञ्चालन सामान्य भइसकेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।