प्रिमियर कप तयारीका लागि नेपाली क्रिकेट टोली भारत प्रस्थान गर्दै, क्यानले गर्‍यो बिदाइ


काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज साँझ भारतको बेङ्गलुरु प्रस्थान गर्ने भएको छ।

प्रतियोगिताको तयारीस्वरूप नेपाली टोलीले बेङ्गलुरुमा १० दिनको प्रशिक्षण शिविर सञ्चालन गर्नेछ। त्यसपछि टोली भारतबाटै मलेसिया जानेछ।

मलेसियामा नेपाली टोलीले पाँच दिनको प्रशिक्षण शिविरसँगै दुई वटा अभ्यास खेल खेल्नेछ। प्रतियोगिताअघि खेलाडीको तयारी, टिम संयोजन र प्रदर्शन सुधारका लागि अभ्यास खेललाई महत्वपूर्ण मानिएको छ।

आगामी ३० अगस्टदेखि सुरु हुने एसीसी मेन्स प्रिमियर कप का लागि नेपालले भारत र मलेसियामा प्रशिक्षण तथा अभ्यास खेलमार्फत तयारीलाई तीव्रता दिएको हो।

टोली भारत प्रस्थान गर्नुअघि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई बिदाइ गरेको छ।