त्रिशूली–३ ‘ए’ पावर हाउसमा ३३ जना फसे? केबल डक्टबाट उद्धार हुँदै


काठमाडौँ । रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याउँदा ३७५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण करिब १५ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाका ४२ जना सम्पर्कविहीन छन्। तीमध्ये ३२–३३ जना भूमिगत पावर हाउसमा फसेको आशङ्का गरिएको छ। मुख्य एक्सेस टनेल माटो, ढुंगा र बोल्डरले पुरिएपछि केबल डक्टबाट उत्खनन गरी उद्धारको प्रयास भइरहेको छ।

यस्तै, चिलिमे जलविद्युत् आयोजनाको पावर हाउसमा ८ जना कर्मचारी फसेका छन्। उनीहरूको उद्धारका लागि माउन्टेन क्लाइम्बर्ससहितको टोली परिचालन गरिएको छ।

प्राधिकरणले सम्पर्कविहीन सबैको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।