भोटेकोशी प्रभावितलाई टेलिकमको राहत, निःशुल्क सेवा जारी


काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर गर्ने भएको छ।

बाढीपछि उद्धार तथा राहत कार्यमा सहजता होस् भन्दै टेलिकमले यसअघि भदौ १४ गतेसम्म निःशुल्क सेवा दिएको थियो। अब सो सुविधा थप समयका लागि जारी रहने प्रवक्ता कमल लामिछानेले जानकारी दिए।

प्रभावित क्षेत्रमा टेलिकमका संरचनामा क्षति पुगे पनि अधिकांश पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी संरचना मर्मत गरी सेवा नियमित बनाउन प्राविधिक टोली परिचालन गरिएको कम्पनीले जनाएको छ।