कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । संसदीय दलको कार्यालयका अनुसार बैठक भदौ १५ गते बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका तथा जनसरोकारका समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका साथै आगामी दिनमा संसदमा पार्टीले अपनाउने रणनीतिबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै, बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको अवस्था र उनीहरूका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने अपेक्षा गरिएको छ ।

बैठकले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्नुका साथै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा आवश्यक रणनीति बनाउने कांग्रेसले जनाएको छ ।